बागलुङ । बागलुङ बजारमा खानेपानीको हाहाकार मच्चिएपछि नगरपालिकाले दमकल र ट्याङ्करमार्फत पानी वितरण थालेको छ । बागलुङ बजारमा वितरण गरिने खानेपानीको पाइप गत असोज ८ मा पहिरोले बगाएपछि समस्या भएको हो ।

बजारबासीलाई खाना पकाउन तथा सरसफाइका लागि नगरपालिकाले बिहीबार बिहानैदेखि दमकल र ट्याङ्करमार्फत पानी वितरण थालेको हो । पाइप बगाएपछि बागलुङ बजारका करिब ४ हजार ५ सय उपभोक्ताले पछिल्लो पाँच दिनदेखि खानेपानीको समस्या भोग्नु परेको छ ।

पहिरो बागलुङ नगरपालिका–३ हनुमानमौवा छेउमा मुख्य खानेपानीको पाइपमा क्षति पुर्‍याएको छ । लिफ्टिङमार्फत काठेखोलाबाट ल्याएको पानी कैलामपोखरी, सुल्डाँडा र मुश्यास्वाराको ट्याङ्की पुर्‍याएको छ । मुख्य ट्याङ्कीमा ल्याएको पाइपमा पहिरोले क्षति पुगेको छ ।

तित्याङ र भकुण्डेको सीमाबाट आउने रिठेखोलाको मुहानबाट बजारमा ल्याइएको पाइप तथा काठेखोला गाउँपालिकास्थित भुँदीखोलाको मुहानबाट ल्याइएको पाइपमा बाढीले क्षति पुर्‍याएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ ।

बागलुङ बजारमा पानी आपूर्ति हुने मुख्य चार वटा मुहानमा वर्षा र बाढीले ठूलो क्षति पुर्‍याएको छ । बाढीले ठाउँ ठाउँमा पाइप बगाउँदा पानी आपूर्तिमा समस्या भएको हो । रिठेखोलामा जडान गरिएको करिब ८० मिटर पाइप बाढीले बगाएको छ । कतिपय स्थानमा पाइप बगाएको र कतिपय ठाउँमा मर्मत गर्नुपर्ने देखिएको छ ।

तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी