बागलुङ । दरमखोलाको आडैमा थियो – बागलुङको गलकोट नगरपालिका–९ को कार्यालय । गत असोज ११ मा दरमखोलामा आएको बाढीले यो सिंगो भवनलाई  खोलामा लडाएको छ ।

पहिलो कार्याकालमै कार्यालय भवन बनाउन वडाध्यक्ष तेजबहादुर थापाले निकै मिहिनेत गरेका थिए । दोस्रो कार्यालय पूरा नहुँदै भवन बन्यो । सेवाप्रवाह थालियो । निकै मेहनत गरेर ठडाएको कार्यालय भवन आँखैअगाडि दरमखोलामा ढल्दा वडाध्यक्ष थापा निकै भावुक छन् । बिहान–बेलुका उनको दमखोलामा लडेको भवन हेर्छन् । लडेको भवनबाट केही अति आवश्यक सामान झिक्न सकिने आशमा जोखिम मोलेर भित्र छिर्छन् ।

भवनबाट कतिबेला कुर्ची, कतिबेला, टेबल त कतिबेला कम्प्युटरका पाटपुर्जा निकालेर बाहिर आउँछन् । बाढीले भवन लडाउला भन्ने गाउँका कसैले पनि कल्पना गरेका थिएनन् । जब दरमखोलामा बाढी आयो, तब खाली जमिन कटान गर्दै भवनसम्म आइपुग्यो । अन्ततः भवन नै लडायो । यतिबेला भवन दरमखोलामा ढलेको छ । भवन लडेपछि अध्यक्ष थापा रातमा समेत निदाउन सकेका छैनन् ।

संघीयता स्थापनापछिको पहिलो स्थानीय चुनावमा निर्वाचित भएपछि थापाले सुरूमै भवन बनाउन पहल थालेका थिए । करिब ८० लाख रूपैयाँ लागतमा २०७७ साल माघमा भवन तयार भएको थियो । तीन रोपनी क्षेत्रफलमा निर्मित भवनका लागि केही जग्गा स्थानीयसँग खरिद गरिएको थियो भने केही दानमा प्राप्त भएको थियो । यसपछि वडाध्यक्ष थापा गाडी पार्किङ र बगैँचासहितको भवन निर्माण गर्न सफल भएका थिए ।

अहिले भवन खोलामा लडेको अवस्थामा छ भने बगैँचा र पार्किङ स्थलको नाम–निशान छैन । साविकको मल्म गाविस विभाजित भएर वडा नयाँ बनेकाले सुरूवातमा वडा कार्यालयसँग आफ्नै भवन थिएन । भवन बन्नुअघि विद्यालयको कोठा भाडामा लिएर वडा कार्यालय चलेको थियो । कार्यालयले स्थानीय भैरव माध्यमिक विद्यालयको खाली कोठा प्रयोग गरेबापत मासिब ६ हजार रूपैयाँ भाडा तिर्थ्यो ।

बाढीले भवनको जमिन कटान गर्न थालेपछि स्थानीयले अतिआवश्यक कागजपत्र निकालेका थिए । अन्य सामान भवनैसँग खोलामा पुगेका छन् । अहिले पनि भवनबाट केही सामान निकालिरहेका छन् । लडेको भवनमा पसेर अध्यक्षले सामान निकाल्न थालेपछि गाउँका अरू युवाले पनि साथ दिने गरेका छन् ।

बाढीले अध्यक्ष थापाको लाखौँ रूपैयाँ मूल्य पर्ने धान खेत पनि बगर बनाएको छ । तर उनलाई आफ्नो धानखेतको भन्दा बढी चिन्ता वडा कार्यालय भवनको छ । ‘मेरो धान खेत बगेर मलाई केही चिन्ता लागेको छैन । म एकपटक पनि त्यो खेतमा पुगेको छैन, तर वडा कार्यालय लडेको ठाउँमा दिनमा १० पटक आउँछु । यहाँ आएर यो दृश्य देख्दा आँखा रसाउँछ,’ उनले सुनाए ।  भवन नभए पनि जनता सेवा पाउनबाट विमुख नहुने उनी सुनाउँछन् । बाढीले भवन भत्काएपछि अहिले नजिकैको गाउँको एउटा घर भाडामा लिएर सेवा दिइएको अध्यक्ष थापाले बताए ।

उनलाई भवनसँगै आफ्नो इतिहास मेटिने चिन्ताले निकै सताएको छ । दुई कार्यकाल वडाध्यक्ष भएर गरेको कामको दस्तावेज मेटिने गरि बाढीले भवन ढलाएकोमा उनी निकै दुःखी छन् । ‘भवनसँगै मेरो इतिहास खोलामा मेटियो, यहाँ मेरो दुई/दुई कार्यकालको एक/एक थोपा पसिना छ । मैले गरेको एउटा उपलब्धि थियो तर त्यो मेटियो,’ उनी भावुक सुनिए ।

बाढीले भवनसँगै १५ लाख रूपैयाँ लगातमा जडान गरेको सोलार बत्तीसमेत बगाएको छ । यो भवन गलकोटका ११ वडामध्ये सबैभन्दा पहिले निर्माण गरिएको थियो । खोलामा लडेको भवन अझै पनि बलियो रहेको अध्यक्ष थापाले सुनाए । उठाएर पुनःस्थापना गर्न मिल्ने भए गर्ने उनको योजना छ ।

बाढीले गलकोट नगरपालिका क्षेत्रका २२ घरमा क्षति पुर्‍याएको छ । नगरपालिकाले तयार गरेको प्रारम्भिक क्षति विवरणअनुसार बाढीले घर, गोठ तथा व्यवसायमा क्षति पुगेको हो । बाढीले गलकोट नगरपालिका–५ हरिचौर र ६ चरौंदीमा सबैभन्दा बढी क्षति पुगेको छ ।

शब्द/तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी